कञ्चनपुर । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाबाट फर्किने क्रममा भारी वर्षा र हिमपातका कारण सम्पर्कविहीन भएका कञ्चनपुरका एक युवक मृत फेला परेका छन् ।
मृत्यु हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा रहेका छन् । बाजुराका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका बोहरा बडीमालिकास्थित त्रिवेणी पाटननजिकै मृत अवस्थामा फेला परेका हुन् ।
उनको खोजीका लागि सदरमुकाम मार्तडीबाट हेलिकप्टरसहित सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो । खोजीका क्रममा उनको शव फेला परेको हो ।
शव अहिले त्रिवेणी पाटनस्थित धर्मशालामा राखिएको छ । हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन् ।
बोहरासँगै बडीमालिकाबाट फर्किने क्रममा हिमपातमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीलाई भने शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइसकिएको छ ।




















