काठमाडौं । बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा आठ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि भारतको लखनउ लगिएको छ ।
बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगमा आइतबार बिहान आगलागी भएको हो । प्रहरीका अनुसार कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट भएर अचानक आगलागी भएको थियो । ती भट्टीको क्षमता प्रतिगोटा २५ टन रहेको छ ।
आगलागीमा परी बाँकेका पाँच र भारतको बहराइच जिल्लाका तीन जना कामदार घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ ।
घाइते अन्य छ जनाको अवस्था सामान्य रहेको छ ।
आगलागी नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल परिचालन गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा आइतबार बिहान ८ बजेर १५ मिनेटमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो ।
आगलागीबाट भएको भौतिक तथा अन्य क्षतिको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।




















