काठमाडौं । प्रहरीले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा बुझाएको छ।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि प्रहरीले रजौरियालाई सिरहा र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।
उनीहरूलाई नियन्त्रणमा लिए पनि प्रहरी हिरासतमा भने राखिएको छैन। दुवै जनालाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइएको स्रोतले जनाएको छ।
उनीहरूलाई सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासँग सम्बन्धित विषयमा नियन्त्रणमा लिइएको हुनसक्ने अनुमान गरिएको छ।
यसअघि सिँचाइ विभागले आयोजनाको ठेक्का रद्द गरेको थियो। गत वर्ष कात्तिकमा तत्कालीन अन्तरिम सरकारको पालामा पटेल–रमण जेभीसँगको ठेक्का तोडिएको थियो। त्यसयता आयोजनाको कामका लागि नयाँ ठेक्का लाग्न सकेको छैन।
हाल नयाँ ठेक्का प्रक्रियासमेत अघि बढिरहेका बेला विभागका महानिर्देशक र आयोजना प्रमुखलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा बुझाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनीहरूलाई नियन्त्रणमा लिनुको औपचारिक कारण भने सार्वजनिक भएको छैन।



















