काठमाडौं । भुटानको शिन्ताफु हिमनदीमा रहेको ताल फुटेर आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बिहीबार राति आएको बाढीले भुटानको गासा जिल्लास्थित प्रसिद्ध तातोपानीको मुहान गासा त्साचु पूर्ण रूपमा बगाएको छ भने विभिन्न सडक तथा पूर्वाधारमा क्षति पुर्याएको छ।
बाढीका कारण पुनाखा–गासा राजमार्गको एक खण्ड भत्किएपछि यातायात अवरुद्ध भएको छ। यद्यपि, अहिलेसम्म मानवीय क्षति भएको विवरण सार्वजनिक भएको छैन।
भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस)का अनुसार हिमताल फुटेर निस्किएको पानीले संकोश नदीको जलस्तर बढाएको छ। मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लास्थित सौर्य सिँचाइ प्रणालीमा समेत क्षति पुर्याएको छ।
बाढीसँगै बगेर आएको गेग्रानले जोमलिङथाङ क्षेत्रमा पुनाखा–गासा राजमार्गको एक खण्ड बगाएको छ। त्यसैगरी, लाया गेओगअन्तर्गत टोङचुद्राक खण्डको सडकमा समेत क्षति पुगेपछि लाया क्षेत्र अन्य भागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ।
रातिको समयमा बाढी आएकाले तत्काल क्षतिको पूर्ण विवरण संकलन गर्न नसकिएको अधिकारीहरूले जनाएका छन्। सुरक्षाकर्मी तथा सम्बन्धित निकायले प्रभावित क्षेत्रको अवस्था र नदीको जलस्तर निरन्तर निगरानी गरिरहेका छन्।
भुटानबाट बग्ने संकोश नदी भारतको असम र पश्चिम बंगालका सीमावर्ती क्षेत्र हुँदै ब्रह्मपुत्र नदीमा मिसिन्छ। यसले गर्दा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै भारतका दुवै राज्यमा सतर्कता अपनाइएको छ।
पश्चिम बंगालको अलिपुरद्वारमा स्थानीय प्रशासनले १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ। नदीको जलस्तर बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतीय सीमावर्ती क्षेत्रमा समेत निगरानी तीव्र पारिएको छ।




















