काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालले आफू र अन्य न्यायाधीशहरूसँग सम्पर्कमा आएका इनम सापकोटाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को विशेष प्रतिनिधि भएको दाबी गर्दै भेटेको बताएका छन्। उनले सापकोटाले पछि विभिन्न मुद्दामा आफूअनुकूल आदेश गराउन दबाब दिन थालेको र असहयोग गरे महाभियोगसम्मको धम्की दिएको दाबी गरेका छन्।
न्यायपालिका र आफ्ना सम्बन्धमा सार्वजनिक भएका विवरण तथा समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै न्यायाधीश फुयालले स्वतन्त्र, निष्पक्ष र सुशासनयुक्त न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको बताएका छन्। उनले नेपालको न्यायपालिकामा देखिएको न्यायिक विचलनसम्बन्धी अनुसन्धानप्रति पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा फुयालले न्यायक्षेत्रमा पछिल्लो समय देखिएको अस्थिरता, असुरक्षा र विसङ्गतिको गलत फाइदा उठाएर भएका गतिविधिहरू राज्यको जानकारीमा आइसकेको र अनुसन्धान भइरहेको उल्लेख गरेका छन्। आफूबाट न्यायिक विचलन, निष्ठा र नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने कुनै काम नभएको उनको दाबी छ।
त्यसअघि न्यायाधीश फुयालले केही संवाददाताहरूसँगको भेटमा सापकोटाले आफूलाई प्रधानमन्त्री शाहको विशेष प्रतिनिधिका रूपमा परिचित गराएको बताएका थिए। उनका अनुसार सापकोटाले प्रधानमन्त्रीको सन्देश भन्दै आफू र अन्य न्यायाधीशहरूलाई महाभियोगको कुनै खतरा नरहेको र त्रासमा रहनु नपर्ने आश्वासन दिएका थिए।
फुयालका अनुसार सुरुमा आफन्तमार्फत सम्पर्कमा आएका सापकोटाले आफूलाई प्रधानमन्त्रीको प्रतिनिधिका अतिरिक्त अमेरिकी दूतावासको विश्वासपात्र र भारतस्थित अमेरिकी राजदूत सर्जिओ गोरको विशेष सद्भाव प्राप्त व्यक्ति भएको दाबी गरेका थिए।
सापकोटाले सुरुमा समसामयिक विषयमा कुराकानी गर्ने गरे पनि पछि सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरूमा चासो राख्दै आफूअनुकूल फैसला गराउन दबाब दिन थालेको फुयालको भनाइ छ। विशेषगरी नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेज गराउन उनले आग्रह गरेको फुयालले बताएका छन्।
त्यसैगरी रोहित गुप्ता, दीपक भट्ट र बीमा प्राधिकरणका पूर्वअध्यक्ष शरद ओझासहितका व्यक्तिसँग सम्बन्धित मुद्दामा पनि अनुकूल आदेश गराउन सापकोटाले आग्रह गरेको फुयालको दाबी छ। गुप्ताको मुद्दामा प्रधानमन्त्रीको चाहना भन्दै उनलाई थुनामा पठाउनुपर्ने सन्देश आएको भए पनि आफूले मुद्दाको तथ्य र आधारका आधारमा दुई करोड रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको उनले बताएका छन्।
फुयालका अनुसार सापकोटाले सर्वोच्च अदालतका पाँचदेखि सात जना न्यायाधीशसँग सामूहिक भेटघाटसमेत गरेका थिए। एउटा भेटमा न्यायाधीशहरूलाई ‘तपाईंहरूमाथि महाभियोग जान सक्छ’ भन्दै चेतावनी दिएको उनको भनाइ छ। सापकोटाले भविष्यमा मुलुकमा अझ ठूलो राजनीतिक संकट आउन सक्ने भन्दै त्यस्तो अवस्थामा आफूले सहयोग र संरक्षण गर्ने आश्वासनसमेत दिने गरेको फुयालले बताएका छन्।
मुद्दाहरूमा सोझै सिफारिस र दबाब आउन थालेपछि न्यायाधीशहरूबीच छलफल भएको र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाएर सापकोटाको पृष्ठभूमिबारे बुझ्न आग्रह गरिएको फुयालले बताएका छन्। तर प्रहरीबाट अपेक्षित सहयोग नपाएपछि न्यायाधीशहरूले प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि यस विषयमा कुराकानी गरेको उनको भनाइ छ।
प्रधानसेनापति सिग्देलले सापकोटालाई नेपाली सेनाले व्यक्तिगत वा संस्थागत रूपमा प्रयोग नगरेको र उनी सेनाको सम्पर्कमा नरहेको स्पष्ट पारेको फुयालले बताएका छन्। साथै, सापकोटाको गतिविधिबारे प्रधानमन्त्री कार्यालयमा जानकारी गराइदिने आश्वासन दिएको पनि उनले उल्लेख गरेका छन्।
सापकोटाले आफूले नै डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाउन भूमिका खेलेको र उनीसँग नियमित सम्पर्क हुने गरेको दाबी गर्ने गरेको फुयालको भनाइ छ। तर प्रधानन्यायाधीश शर्माले भने सापकोटासँग आफ्नो प्रत्यक्ष वा परोक्ष कुनै सम्पर्क र चिनजान नरहेको भन्दै विज्ञप्ति जारी गरिसकेका छन्।
न्यायाधीश फुयालले आफूले सापकोटाको आग्रहअनुसार कहिल्यै न्यायनिरूपण नगरेको र कुनै सेटिङमा संलग्न नभएको स्पष्ट पारेका छन्। उनले आफू, न्यायिक नेतृत्व र अन्य न्यायाधीशहरूमाथि आवश्यक अनुसन्धान गर्न आग्रह गर्दै त्यसमा पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन्।
विज्ञप्तिमा उनले आफूलाई जोडेर सार्वजनिक भएका तथ्य र समाचारलाई न्यायक्षेत्रको समग्र अस्थिरता र असुरक्षाको सन्दर्भबाट अलग गरेर नहेर्न आग्रह गरेका छन्। साथै, भ्रम, अर्धसत्य र अनुसन्धानलाई प्रभावित पार्ने गतिविधिप्रति दुःख व्यक्त गर्दै न्यायपालिकाप्रतिको जनविश्वास कायम राख्न सबै न्यायकर्मीलाई आह्वान गरेका छन्।




















