काठमाडौं । बंगालको खाडीबाट उत्पन्न चक्रवात ‘अर्नब’का कारण भारतमा पाँच जनाको मृत्यु भएको छ। भारतीय अनलाइन दैनिक भास्करका अनुसार आन्ध्र प्रदेश र ओडिसामा गरी पाँच जनाले ज्यान गुमाएका हुन्।
चक्रवातको प्रभाव भारतका विभिन्न राज्यमा परेको छ। मध्य प्रदेश, राजस्थान, बिहार र उत्तर प्रदेशसहित १५ राज्यमा बिहीबार रातिदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमानअनुसार वर्षा आगामी दुई दिनसम्म जारी रहने सम्भावना छ।
मध्य प्रदेशका सतना, कटनी र छतरपुरलगायत जिल्लामा बुधबार वर्षा भएको थियो। राजस्थानको भरतपुर र कोटा डिभिजनका केही क्षेत्रमा पनि वर्षा भएको छ। मौसममा आएको परिवर्तनसँगै जयपुर, पिलानी, सिकर, बारमेर र चुरुलगायत सहरको तापक्रम दुई डिग्री सेल्सियससम्म घटेको छ। सिकरमा न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस मापन गरिएको छ।
चक्रवातको जोखिमलाई ध्यानमा राख्दै छत्तीसगढका १२ जिल्लामा बिहीबार विद्यालय बन्द गर्न आदेश दिइएको छ। ओडिसाका १६ जिल्लामा पनि विद्यालय बन्द गरिएका छन्। त्यस्तै, ओडिसामा करिब ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
अर्नब चक्रवात मंगलबार बिहान करिब ३:३० बजे आन्ध्र प्रदेशको तटीय क्षेत्रमा पुगेको थियो। त्यसक्रममा प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावा चलेको र भारी वर्षा भएको जनाइएको छ। चक्रवातका कारण प्रभावित क्षेत्रमा जनजीवन प्रभावित भएको छ।




















