काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टीले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै छानबिनको माग गरेको छ। पार्टीले प्रहरी, आन्तरिक सुरक्षा निकाय सिन बेट र केन्द्रीय निर्वाचन समितिलाई निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको हो।
लिकुड पार्टीले विज्ञप्ति जारी गर्दै अरब नेतृत्वका दलहरूले घुसखोरी, धम्की, हिंसा, जालसाजी र प्रतिबन्धित सफ्टवेयर प्रयोग गरेर मत चोरी गरेको आरोप लगाएको छ।
पार्टीका अनुसार निर्वाचनसम्बन्धी अनियमितताका प्रमाण प्रहरी, सिन बेट र केन्द्रीय निर्वाचन समितिलाई बुझाइएको छ। ती प्रमाणमा नगद राखिएका खाम, राअम पार्टीका पर्चा, धम्की तथा हिंसाका घटना र दोहोरो मतदानसम्बन्धी विवरण रहेको दाबी गरिएको छ। मतदाता ओसार्न प्रतिबन्धित सफ्टवेयर प्रयोग गरिएको आरोप पनि लिकुडले लगाएको छ।
अरब नेतृत्वका राअम र जोइन्ट लिस्टले १९ सिट जित्ने अनुमान गरिएपछि नेतान्याहूको गठबन्धनसहित दुवै पक्ष संसद्मा बहुमत जुटाउन असफल हुने देखिएको छ। चुनाव प्रचारका क्रममा लिकुड पार्टीले अरब दलहरूसँगको सहकार्यलाई अवैध भन्दै आएको थियो।
लिकुड पार्टीले निर्वाचनसम्बन्धी आरोपमा तत्काल छानबिन गर्न माग गरे पनि केन्द्रीय निर्वाचन समितिका एक अधिकारीले भने चुनावमा धाँधली भएको दाबी अस्वीकार गरेका छन्।
रिपोर्टहरूका अनुसार निर्वाचनअघि नै लिकुड पार्टीले अरब बहुल क्षेत्रका मतदान केन्द्रका नतिजालाई चुनौती दिने तयारी गरेको थियो।




















