काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को ललितपुरस्थित सातदोबाटो कार्यालयमा चार महिनादेखि लागेको ताला खोलिएको छ। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत कार्यसमिति सदस्यले बुधबार कार्यालयको ताला खोलेका हुन्।
कार्यालय खुलेपछि वरिष्ठ उपाध्यक्ष खड्काको नेतृत्वमा भएको छलफलले यही कात्तिक १३ गते शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ।
छलफलमा खड्कासहित विराटजंग शाही, दीपक खतिवडा, कुमार केसी, रुपेश अधिकारी, टीका लामा, भरत बुढा थापा, महेन्द्र क्षेत्री र मनिष जोशी सहभागी थिए।
वरिष्ठ उपाध्यक्ष खड्काका अनुसार बैठकमा नेपाली फुटबललाई निकास दिने विषयमा छलफल हुनेछ। कात्तिक १३ गतेको बैठकमा मुख्य रूपमा तहगत निर्वाचन र एन्फामाथिको निलम्बन फुकुवालगायत विषयमा छलफल गर्ने तयारी छ।
खड्काले आफूहरूले समयअगावै निर्वाचनको माग गरे पनि अध्यक्ष र महासचिवले केन्द्रीय निर्वाचनमा मात्रै ध्यान दिँदा अहिलेको अवस्था सिर्जना भएको दाबी गरे। बैठकमा सहभागी सदस्यहरूले पनि अध्यक्ष र महासचिवले एकलौटी ढंगले अघि बढ्दा समस्या उत्पन्न भएको बताएका थिए।
खड्काले शनिबारको बैठकमा सबै कार्यसमिति सदस्यलाई सहभागी हुन आग्रह गरिएको जानकारी दिए। अध्यक्ष र महासचिव अनुपस्थित भए पनि एन्फाको विधानअनुसार बैठक बसेर आवश्यक निर्णय लिने सहमति भएको उनले बताए।
बुधबारको छलफल र त्यसबाट भएका निर्णयबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा शिक्षा तथा खेलकुद मन्त्रालयलाई जानकारी गराउने निर्णयसमेत भएको छ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई विधानअनुसार कार्यसमिति बैठक बोलाउन लिखित माग गरिए पनि बैठक नबोलाइएपछि ताला खोलेर अघि बढ्ने निर्णय गरिएको खड्काको भनाइ छ।
कात्तिक १३ गतेको बैठकबाट भएका निर्णयबारे राखेप, मन्त्रालय, एसियाली फुटबल महासंघ (एएफसी) र विश्व फुटबल महासंघ (फिफा) लाई पत्राचार गर्ने तयारीसमेत गरिएको छ।
यसैबीच, एन्फा अध्यक्ष नेम्वाङसहितका पदाधिकारीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खेल ठगीसम्बन्धी कसुरमा मुद्दा चलाएको छ। एन्फाभित्रको विवाद र निर्वाचन प्रक्रियालाई लिएर उत्पन्न परिस्थितिले नेपाली फुटबलको प्रशासनिक गतिविधि प्रभावित हुँदै आएको छ।




















