काठमाडौं । राजनीतिक दलमा जिम्मेवारी लिएको आरोपमा तीन जना सरकारी कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा परेको उजुरीका आधारमा उनीहरूमाथि कानुनी कारबाहीका लागि सिफारिस गरिएको हो।
रास्वपाका सचिवालय सदस्य कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीमा प्राप्त उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयमा पठाइएको छ।
‘सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा प्राप्त उजुरीमा कानुनी कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको छ,’ बुर्लाकोटीले सामाजिक सञ्जालमा लेखेका छन्।
उनका अनुसार तीनै जना कर्मचारी काठमाडौंका हुन्। तर, उनले सम्बन्धित संस्थान र कर्मचारीको नाम भने खुलाएका छैनन्।
रास्वपामा यसअघि पनि सरकारी सेवामा रहेर राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा उजुरी परेको थियो। त्यस्ता उजुरीमा सम्बन्धित व्यक्तिसँग सोधपुछ गरी निर्णय लिन दिने गरिएको बुर्लाकोटीले बताएका छन्।
उनका अनुसार एक वाणिज्य बैंकका कर्मचारीले रास्वपामा जिम्मेवारी लिएको विषयमा उजुरी परेपछि पार्टीले उनलाई जागिर वा राजनीतिमध्ये एउटा रोज्न सुझाव दिएको थियो। ती कर्मचारीले जागिर छाडेर राजनीतिमै रहने निर्णय गरेका थिए।
‘हामी प्रस्ट छौं, सरकारी कर्मचारीले राजनीतिक दलमा जिम्मेवारी लिनु हुँदैन,’ बुर्लाकोटीले भनेका छन्।




















