काठमाडौं । चितवन राइनोजका ओपनर डाविड मलानले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो अर्धशतक प्रहार गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सविरुद्ध जारी खेलमा मलानले ४१ बलमा अर्धशतक पूरा गरेका हुन्। आक्रामक ब्याटिङ गरेका उनले ५१ बलको सामना गर्दै ७० रन बनाएर पेभेलियन फर्किए।
मलानले आफ्नो इनिङ्समा ५ चौका र ५ छक्का प्रहार गरे। उनको उत्कृष्ट ब्याटिङलाई आन्द्रे रसेलले १३ ओभरको दोस्रो बलमा समाप्त पारे। रसेलले मलानलाई आउट गर्दै चितवनको महत्त्वपूर्ण विकेट लिएका हुन्।
मलानको अर्धशतकसँगै एनपीएलको तेस्रो संस्करणमा पहिलो अर्धशतक बनाउने खेलाडीको रूपमा उनको नाम दर्ता भएको छ।




















