काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना एक सातामा सकिएको छ । मधेश र बागमती प्रदेशको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारीसँगै शुक्रबार बिहान सबै पदको मतगणना सम्पन्न भएको हो ।
गत असोज २३ गते रातिदेखि सुरु भएको मतगणना झण्डै एक सातामा सकिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए । उनका अनुसार प्रमाणपत्र वितरण तथा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथग्रहण कार्यक्रम दसैँपछि गर्ने तयारी गरिएको छ ।
लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडिततर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको थियो । त्यस्तै, सहमहामन्त्रीसहित खुला तथा महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारू समूहको मतगणना पनि सम्पन्न भएको छ । सबै मतपरिणाम रुजु गर्ने काम भइरहेको निर्वाचन समितिले जनाएको छ ।
असोज २३ गते मतदान सम्पन्न भएपछि सोही राति सभापति पदको मतगणना सुरु गरिएको थियो । राष्ट्रिय सभागृहमा गरिएको गणनाको परिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो । अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिएको थियो ।
कटुवालका अनुसार कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो । यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको छ । दिनरात गरी करिब २५ समूह बनाएर गणना गरिएकाले मतगणना छिटो सम्पन्न भएको उनले बताए ।
यसपटक करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको थियो । कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए । प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था थियो ।
निर्वाचन समितिका अनुसार मतदान तथा मतगणनाका क्रममा कुनै विवाद भएन । निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको कटुवालले बताए ।
नवनिर्वाचित कार्यसमितिको शपथग्रहणपछि पहिलो बैठक बस्नेछ । उक्त बैठकमा स्थानीय तहको निर्वाचनको तयारी तथा रणनीतिबारे छलफल गर्दै खाका तयार गर्ने तयारीसमेत रहेको नेताहरूले बताएका छन् ।




















