काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरणअनुसार उक्त सञ्चिति १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।
राष्ट्र बैंकका अनुसार २०८३ भदौ मसान्तसम्म अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २६ अर्ब ४८ करोड पुगेको छ । यस अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा मुलुकको चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ भने शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । यी सूचकले मुलुकको बाह्य क्षेत्रको समग्र स्थिति बचतमा रहेको देखाउँछन् ।
विप्रेषण आप्रवाह २ खर्ब २१ अर्ब
चालु आर्थिक वर्षको भदौ महिनामा विप्रेषण आप्रवाह २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । वार्षिक बिन्दुगत आधारमा नेपाली रुपैयाँमा विप्रेषण आप्रवाह २३.९ प्रतिशत र अमेरिकी डलरमा १३.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० रहेको छ । त्यसैगरी पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५२ हजार १६३ रहेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको थियो ।
राजस्वभन्दा सरकारी खर्च बढी
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारले १ खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेको छ । सोही अवधिमा राजस्व परिचालन १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ रहेको छ । यसअनुसार सरकारी खर्च राजस्व परिचालनभन्दा १६ अर्ब ६३ करोड रुपैयाँ बढी देखिएको छ ।
भदौ मसान्तसम्म विस्तृत मुद्राप्रदाय १.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदायको वृद्धिदर १४.९ प्रतिशत रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा १.७ प्रतिशत, विकास बैंकहरूको ०.६ प्रतिशत र वित्त कम्पनीहरूको १.४ प्रतिशतले बढेको छ ।
घरजग्गा धितोमा ६२.८ प्रतिशत कर्जा
२०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को सुरक्षणमा प्रवाहित कर्जाको अंश १५.६ प्रतिशत रहेको छ । घरजग्गा धितो सुरक्षणमा प्रवाहित कर्जाको अंश भने ६२.८ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष २०८२ भदौ मसान्तमा चालु सम्पत्तिको सुरक्षणमा प्रवाहित कर्जाको अंश १५.१ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा प्रवाहित कर्जाको अंश ६४.३ प्रतिशत रहेको थियो ।
खनिज र उत्पादन क्षेत्रमा कर्जा बढ्यो, कृषि क्षेत्रमा घट्यो
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये खनिज क्षेत्रतर्फको कर्जा १०.४ प्रतिशतले बढेको छ । यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन र मर्मत क्षेत्रतर्फको कर्जा ७.३ प्रतिशतले बढेको छ ।
यसैगरी निर्माण क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशत, सेवा उद्योगतर्फको २.७ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको २.५ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवातर्फको २.१ प्रतिशत, औद्योगिक उत्पादनतर्फको १.९ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले बढेको छ ।
तर, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशत र कृषि क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले घटेको छ ।
ट्रस्ट रिसिट कर्जा बढ्दा क्यास क्रेडिट घट्यो
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित ट्रस्ट रिसिट (आयात) कर्जा ९.४ प्रतिशतले बढेको छ । विपन्न वर्ग कर्जा ४.७ प्रतिशत, आवधिक कर्जा १.६ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.४ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.४ प्रतिशत र मार्जिन प्रकृतिको कर्जा ०.८ प्रतिशतले बढेको छ ।
यसको विपरीत क्यास क्रेडिट कर्जा १.३ प्रतिशत, अधिविकर्ष कर्जा १.२ प्रतिशत र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले घटेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।




















