काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवनस्तर उकास्ने, उत्पादन बढाउने र दिगो आम्दानी सुनिश्चित गर्ने आर्थिक आधार निर्माण गर्नु मुलुकको प्रमुख दायित्व भएको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले गरिबी न्यूनीकरण र समृद्धिका लागि उत्पादनमुखी रोजगारी तथा आम्दानीका स्रोत सिर्जना गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले नागरिकको जीवनस्तर सुधार गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै पहिचानसम्बन्धी बहसमा मात्र सीमित नभई आम नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने दिशामा नीति तथा राजनीतिक विमर्श केन्द्रित हुनुपर्ने बताए ।
उनले विपन्नतालाई दिगो समृद्धिमा रूपान्तरण गर्न स्पष्ट नीति र उत्पादनमुखी रोजगारी अपरिहार्य रहेको उल्लेख गरे । गरिबी उन्मूलन नारामा मात्र सीमित हुन नसक्ने भन्दै उनले परिवारको आर्थिक सुरक्षा सुनिश्चित गर्ने गुणस्तरीय रोजगारी सिर्जना गर्नु राज्यको प्रमुख कार्यभार हुनुपर्ने बताए ।
अध्यक्ष ओलीले रोजगारीको वास्तविक मूल्य काममा बिताएको समयले नभई त्यसबाट प्राप्त हुने पर्याप्त आम्दानीले निर्धारण गर्ने धारणा राखे ।
उनले कुनै एउटा वर्ग, समुदाय, पेसा वा क्षेत्रको मात्र नभई समग्र नेपाली समाजको उत्थानलाई लक्ष्य बनाउनुपर्ने बताए । आफ्नो राजनीतिक तथा सामाजिक मान्यताको मूल आधार मानवतावाद भएको उल्लेख गर्दै अध्यक्ष ओलीले प्रत्येक नागरिकले गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न सक्ने अवस्था निर्माण गर्नु राज्यको दायित्व भएको स्पष्ट पारे ।
अध्यक्ष ओलीले मानवकल्याण, समान अवसर र जनताको समृद्धिलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिए । साथै, प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्नु राज्यको कर्तव्य भएको बताए ।




















