काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान, जलवायु उत्थानशील पुनर्निर्माण र दीर्घकालीन आर्थिक प्राथमिकता कार्यान्वयनका लागि नेपाललाई सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको बैंककमा रहेका अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्दाबीच बिहीबार भेटवार्ता भएको थियो।
भेटमा अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनरुत्थान तथा जलवायु परिवर्तनका असर सामना गर्न सक्ने पूर्वाधार निर्माणका लागि आवश्यक स्रोत परिचालनमा सहयोग गर्न आग्रह गरेका हुन्।
विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग पुर्याउन आपत्कालीन अनुदान शीघ्र स्वीकृत गरेको तथा ऐक्यबद्धता व्यक्त गरेकोमा उनले एडीबीप्रति नेपाल सरकारका तर्फबाट कृतज्ञता व्यक्त गरे।
भेटका क्रममा एडीबी अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु बैंकको उच्च प्राथमिकतामा रहेको बताए।
भेटवार्तामा अर्थसचिव डा. घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए।




















