कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित गर्ने बैठक बहिष्कार गरेका दुई सांसदलाई ४८ घण्टे स्पष्टीकरण सोधेको छ। साथै, सामाजिक विकास समिति सभापति धर्मराज पाठकलाई पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ।
पाठकलाई समितिको सभापति पदबाट फिर्ता बोलाइएको पत्र सभामुख भीमबहादुर भण्डारीसमक्ष पठाइसकिएको स्रोतले जनाएको छ।
प्रदेश सरकारले ल्याएको बजेटको पक्षमा मतदान गर्न एमाले संसदीय दलले आफ्ना सांसदलाई ह्विप जारी गरेको थियो। आइतबार प्रस्तुत बजेट मंगलबार पारित गर्ने कार्यसूची रहे पनि पूर्वमन्त्री वीरबहादुर थापा र पाठकले पार्टीको निर्देशन पालना नगरेको भन्दै एमालेले स्पष्टीकरण सोधेको हो।
ह्विप जारी गर्न बसेको एमाले संसदीय दलको बैठकसमेत पाठकले बहिष्कार गरेका थिए। थापा भने प्रदेशसभा बैठकमा उपस्थित भए पनि हाजिर नगरी बैठकमा सहभागी नभएको जनाइएको छ।
मंगलबार विवादका बीच बजेट पारित भएपछि थापाले प्रदेशसभा बैठक बहिष्कार गर्नुका साथै प्रदेशसभा सदस्य पदबाट राजीनामासमेत दिएका थिए। एमालेले स्पष्टीकरण पत्रमार्फत उनलाई राजीनामा फिर्ता लिनसमेत आग्रह गरेको छ।




















