पोखरा । ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल नामको संस्थाले मान्छेलाई भ्रम छरेर झुट, अन्धविश्वास र रुढीवादी प्रवृत्तिको उजार गर्दै करोडौं ठगी गर्दै आएको छ भने संस्थाको भ्रममा परेर अस्पताल नजाँदा कतिपयको अकालमै ज्यान समेत जाने गरेको बताइएको छ ।
पोखरा महानगरपालिका–१६ लामाचौरस्थित दीप हाउजिङमा केन्द्रीय कार्यालय रहेको सो संस्थाका देशभर शाखा रहेका छन् । गोरखाका प्रकाश दिप गैरे अध्यक्ष रहेको संस्थाको सञ्चालकमा उनकी श्रीमती सुशीला कट्टेल गैरे छिन् । गैर दम्पत्ति विभिन्न शाखा कार्यालय तथा धार्मिक कार्यक्रममा हेलिकोप्टर चढेर जाने गरेको बताइएको छ ।

इशाई धर्म प्रचारकको काम गर्ने यो संस्थाले धार्मिक विकृति विसंगति फैलाउनुका साथै विभिन्न रोगको उपचार गरिदिने आश्वासन दिँदै ठगी गर्ने गरेको छ ।
केन्द्रअन्तर्गत दर्ता भएका र दर्ता नभएका गरी झण्डै पाँच सय शाखा सञ्चालनमा रहेको बुझिएको छ । शाखाहरुबाट हरेक हप्ता सम्मानको प्रार्थना (दानको प्रार्थना) भन्दै पैसा असुली गरि केन्द्रीय कार्यालय लामाचौर पोखरा पठाउने गरेको बुझिएको छ ।
सच्चाईमा लाग्ने हरेक व्यक्तिबाट न्यूनतम् १ हजार २०० रुपैयाँका दरले करोडौं पैसा उठाउने गरेको पाइएको छ । विरामी भएमा, मृत्यु भएमा, सुत्केरी भएमा वा त्यस्तै कुनै समस्या परेमा संस्थाले सहयोग गर्छ भन्दै पैसा उठाए पनि पनि माग्दा नदिने गरेको पाइएको छ ।
सच्चाईमा लागेका व्यक्ति हरेक हप्ता केन्द्रको शाखामा भेला हुन्छन् । सोही समयमा भजन गाउँछन्, प्रार्थना गर्छन् । त्यसैबेला आँखा चिम्लेर गोजीमा हात हालेर पैसा निकालेर मुठ्ठीदानका रुपमा थैलीमा हाल्नुपर्ने हुन्छ । त्यस्तो दान कार्य हप्ताको एक दिन देशैभरको शाखामा चल्छ ।
थैलीमा जम्मा भएको पैसा शाखाले नखोली हरेक महिनाको दोस्रो हप्ता मंगलबार पोखरामा रहेको केन्द्रीय कार्यालयमा बुझाउनुपर्छ । सबै शाखाका प्रमुखहरु हरेक महिना थैली लिएर पोखरा आउँने गरेको बुझिएको छ ।
मुठ्ठीदानबाट प्रत्येक महिना लाखौं रकम जम्मा हुने गरेको छ । सो पैसा कहाँ लगानी हुन्छ, सञ्चालकहरुले के गर्छन् लेखाजोखा नरहेको बताइएको छ ।

‘हिमाल पहाड तराई, कोही छैन पराई, सबैलाई समेट्ने एकमात्र सच्चाई’ आकर्षक नारा लेखेर सच्चाई केन्द्रले भ्रमको खेती गरिरहेको छ ।
‘विश्वास गर्यो भने ईश्वरले क्यान्सर समेत निको पार्दिनुहुन्छ’, ‘बच्चा नहुनेहरुलाई बच्चा हुन्छ’, ‘विदेश जान भिसा रोकिएकाहरुको भिसा लाग्छ’ वैदेशिक यात्रा राम्रो बनाइदिने, व्यापार–व्यवसाय राम्रो हुने जस्ता भ्रामक कुरामा फसाउँदै केन्द्रले पैसा असुली गर्ने गरेको पीडितहरुले बताएका छन् ।
सच्याई केन्द्रले विरामी निको पार्ने वहानामा क्रिश्चियन संख्या बढाउने चाहना मात्रै पूरा गरिरहेको छ ।
भजन गाउँदा मन शान्त हुन्छ, डिप्रेसन भएकाहरुले भजन गाउँदा, घुलमिल हुँदा आत्मबल चाहिँ बढ्ला तर प्रार्थना गर्दैमा, भजन गाउँदैमा रोग निको हुँदैन । रोगको उपचारका लागि अस्पतालनै जानु पर्छ । तर सच्याइ केन्द्रले स्वास्थ्य विज्ञानलाई नै चुनौती दिँदै विरामीलाई प्रार्थना गर्न लगाउने, भजन गाउँन लगाउने र त्यहाँ झारपुक गरेर अल्मल्याउँदा समयमा उचित उपचार नपाएर कतिपयको ज्यान समेत जाने गरेको बुझिएको छ ।
उदाहरणका लागि, २०८० साल जेठ ३ गते दाङको बासगढी–३ महादेवाकी एक १६ वर्षीया किशोरीलाई सर्पले डसेको थियो । सच्चाई केन्द्रमा रहेकी धर्मगुरु भनिने एक महिला सर्पले डसेको आफूले फुकेर निको पारिदिन्छु भन्दै ती किशोरीलाई अस्पताल लैजान अभिभावकलाई रोकेकी थिइन् । ती महिलाले निको पार्ने दाबी गरे पनि पछि ती किशोरीको मृत्यु भयो ।
धर्मगुरु भनिने ती महिलाले ‘परमेश्वरले बचाइदिनुहुन्छ’ भनेर अनेक प्रार्थना गर्न लगाएकी थिइन् । परिवारको अन्धविश्वास र धर्मगुरुको लापरवाहीका कारण समयमा उपचार हुन नपाउँदा धेरैको ज्यान गएको थियो ।
पोखरा १० नहरमार्ग नजिकै रहेको सच्चाई केन्द्रको शाखामा एक १०÷१२ वर्ष जतिका बालक एक हप्तादेखि बेलाबेलामा बचाउबचाउ भन्दै चिच्याउने गरेको स्थानीयले बताएका छन् । सच्याई केन्द्रले भुत भगाउने भन्दै ती बालकलाई यातना दिने गरेको स्थानीयले बताएका छन् ।
स्थानीयले बच्चामाथि अत्याचार नगर्न र विरामी भए अस्पताल लैजान भन्दा पनि केन्द्रले टेरपुच्छर नलगाएको गुनासो स्थानीयको छ । स्थानीयहरुले वडा प्रहरी कार्यलयमा फोन गरेर बच्चाको उद्दार गर्न आग्रह गरे पनि प्रहरीले समेत कुनै सुनुवाई नगरेको स्थानीयको गुनासो छ ।

सच्याई केन्द्रको भ्रममा पर्दा स्थानीय टोलका एक ब्यक्तिको केही समय अघि मृत्यु भएको थियो भने यि अवोध बालकको बेलैमा उद्दार नगरे यसै भन्न सक्ने अवस्था नरहेको स्थानीयले बताएका छन् ।
प्रभूईशुको नाममा सच्याई केन्द्रले प्रत्येक बुधबार र शनिबार माइक राखेर चर्को स्वरमा भजन गाउने, गीत गाउने जस्ता कार्यलय ध्वनि प्रदुषण भएको गुनासो पटकपटक पोखरा महानगरपालिका १० वडा कार्यालय र वडा प्रहरी कार्यालय गर्दा पनि कतैबाट सुनुवाई नभएको स्थानीयले बताएका छन् ।
कमजोर आर्थिक अवस्था भएका, अशिक्षित र विभिन्न परिस्थितिले आक्रान्त बनेका व्यक्तिलाई हुनै नसक्ने भ्रम फैलाएर ठगी हुँदा पनि राज्यका निकायहरु आँखा चिम्मेलर, कान थुनेर बसेका छन् ।
सच्चाई केन्द्रले आममानिसमा भ्रम फैलाउँदै गठी गरेको भन्दै युवराज पौडेल ‘सफल’ नेतृत्वको नेपाल समाजवादी मोर्चाले यसअघि नै गृह मन्त्रालयमा उजुरी दर्ता गरेको थियो । तर उचित कानूनी कारवाही नहुँदा सच्याइ केन्द्रको ठगी र भ्रमको खेती मौलाएको छ ।




















