काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वाणिज्य बैंकहरूले १७ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरूको नाफा ७.३२ प्रतिशतले बढेको हो।
गत आर्थिक वर्षको साउन र भदौमा वाणिज्य बैंकहरूले १६ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएका थिए। समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये १३ वटाको नाफा बढेको छ भने सातवटाको घटेको छ।
प्रतिशतका आधारमा हिमालयन बैंकको नाफा सबैभन्दा धेरै ५५.१३ प्रतिशतले बढेको छ।
नाफाको रकमका आधारमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। बैंकले दुई महिनामा एक अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको छ। ग्लोबल आइएमई बैंकले एक अर्ब ६९ करोड रुपैयाँ नाफा कमाउँदै दोस्रो स्थान हासिल गरेको छ।
त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एक अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको छ। प्राइम कमर्सियल बैंकले एक अर्ब १४ करोड र राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
नेपाल राष्ट्र बैंकको विवरणअनुसार बैंकहरूको नाफामा समग्र वृद्धि देखिए पनि सबै बैंकको नाफा भने बढेको छैन।





















