काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच भारतको नयाँ दिल्लीमा भेटवार्ता भएको छ।
पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गुरुङ र शाहबीच मंगलबार भेटवार्ता भएको हो।
भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सुरक्षा सहयोग सुदृढ बनाउने र सीमा व्यवस्थापनलगायतका विषयमा छलफल भएको भारतीय गृहमन्त्री शाहले जानकारी दिएका छन्।
शाहले सामाजिक सञ्जालमार्फत नेपाली गृहमन्त्री गुरुङसँग भेट गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै क्षेत्रीय शान्ति, प्रगति र समृद्धिका लागि दुई देशबीचको घनिष्ठ सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएको बताएका छन्।
गृहमन्त्री गुरुङ सोमबार दिल्ली पुगेका हुन्। उनी असोज २८ गते स्वदेश फर्किने कार्यक्रम छ। गृहमन्त्री बनेपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो।




















