विराटनगर । संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने उद्देश्यले आजदेखि विराटनगरमा मुख्यमन्त्री सम्मेलन सुरु हुँदैछ ।
कोशी प्रदेश सरकारको आयोजनामा हुने सम्मेलनमा सहभागी हुन ६ प्रदेशका मुख्यमन्त्री विराटनगर आइपुगेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट भने सहभागी हुन आउने वा नआउने टुंगो लागिसकेको छैन । उनको सट्टा प्रदेशका प्रमुख सचिव सम्मेलनमा सहभागी हुन आएका छन् ।
सम्मेलनमा सहभागी हुन मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका किरण थापामगर, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य र कर्णालीका मङ्गलबहादुर शाही सोमबार विराटनगर पुगेका हुन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयका अनुसार सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट प्रदेशको बजेट विवादका कारण सम्मेलनमा सहभागी हुन आएका छैनन् । बजेटसम्बन्धी विवाद समाधान भए उनी मंगलबार बेलुकासम्म विराटनगर आइपुग्ने सम्भावना रहेको जनाइएको छ ।
सम्मेलनमा मुख्यमन्त्रीहरूसँगै प्रदेशका प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्तासहितको टोली सहभागी हुनेछ ।
सम्मेलनमा संघीय सरकारसँग प्रदेशको अधिकार र वित्तीय स्रोत बाँडफाँटसम्बन्धी विषयमा साझा एजेन्डा तय गरी सामूहिक आवाज उठाउने तयारी छ । त्यस्तै, कानुन निर्माणमा एकरूपता कायम गर्ने र प्रदेशहरूबीच असल अभ्यास आदानप्रदान गर्ने विषयमा पनि छलफल हुनेछ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार दुई दिनसम्म चल्ने सम्मेलनपछि ‘विराटनगर घोषणापत्र’ जारी गरिनेछ ।
घोषणापत्रमा प्रदेश सरकारका साझा माग, प्रतिबद्धता र संघीयतालाई थप बलियो बनाउने विषय समेटिनेछन् । सम्मेलनले प्रदेशका अधिकार सुनिश्चित गर्न संघीय सरकारसमक्ष सामूहिक रूपमा आवाज उठाउने रणनीतिसमेत तय गर्ने अपेक्षा गरिएको छ ।




















