काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्र, राष्ट्रिय अस्मिता र स्वाधीनता कमजोर पारिएको आरोप लगाउँदै त्यसको पुनःस्थापनाका लागि आन्दोलन आवश्यक रहेको बताएका छन् ।
पार्टीको केन्द्रीय कमिटीमा नवमनोनित सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारविरुद्ध सडकमा उत्रिनुपर्ने परिस्थिति बन्दै गएको बताएका हुन् ।
‘अहिले नेपालमा लोकतन्त्र मासिएको छ, खुँडा चलाइएको छ । राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको छ,’ उनले भने, ‘यस्तो स्थितिमा हामीले यी चिजहरूको पुनर्प्राप्ति गर्नु अनिवार्य सर्त हो । बलजफ्ती दमन गरिन्छ भने त्यसलाई अस्वीकार गर्दै प्रतिवादमा उत्रिनुपर्ने हुन्छ, त्यसैलाई आन्दोलन भनिन्छ ।’
ओलीले आन्दोलनको अर्थ लुटपाट र आगजनी नभई असंगठित तथा निःशस्त्र जनतामाथि संगठित शक्तिले गर्ने दमनको प्रतिवाद भएको स्पष्ट पारे ।
सम्बोधनका क्रममा उनले एमालेविरुद्ध घेराबन्दी र षड्यन्त्र जारी रहेको दाबी गरे । २०७७ सालदेखि नै पार्टी कब्जा गरेर ध्वस्त पार्ने योजना सुरु भएको उल्लेख गर्दै उनले २०७८ मा पार्टी विभाजन गराइएको र २०७९ को निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गरिएको आरोप लगाए ।
‘हामीविरुद्धको घेराबन्दी अझै सिद्धिएको छैन, यो एकदमै चालु छ । सामाजिक सञ्जालमार्फत हाम्रो चरित्र हत्या गर्ने र जनताको नजरमा गिराउने काम भइरहेको छ,’ ओलीले भने ।
गत निर्वाचनमा विपक्षीका सबै षड्यन्त्रलाई चिर्न नसक्दा पार्टी केही पछाडि परेको स्वीकार गर्दै उनले आगामी दिनमा त्यस्ता प्रयासलाई सफल हुन नदिन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
समाजवादी आन्दोलन समाप्त पार्ने प्रयासमा लाग्नेहरूलाई ‘मूर्ख’ को संज्ञा दिँदै ओलीले कम्युनिस्ट आन्दोलन सत्य, न्याय र मानवतावादको आन्दोलन भएको दाबी गरे ।
नवमनोनित केन्द्रीय सदस्यहरूलाई निर्देशन दिँदै उनले विगतको इतिहास र योगदानको आधारमा मात्रै पार्टीमा टिक्न नसकिने बताए । पार्टीलाई अघि बढाउन वर्तमानमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।




















