काठमाडौं । संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरिबहादुर सुनारविरुद्ध परेका उजुरीका विषयमा परराष्ट्र मन्त्रालय र ललितपुर प्रहरीसँग कागजात माग गर्ने निर्णय गरेको छ ।
सुनारविरुद्ध परेका उजुरीका तथ्यबारे थप स्पष्ट हुन आवश्यक कागजात अध्ययन गर्नुपर्ने भन्दै समितिले यस्तो निर्णय गरेको हो ।
सुनार जर्मनी भ्रमणमा गएका बेला त्यहाँबाट नेपाल फर्काइएको भन्ने विषयमा उजुरी परेको थियो । उक्त घटनाको वास्तविकता बुझ्न समितिले परराष्ट्र मन्त्रालयसँग आवश्यक विवरण माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै, सुनारको विवाहेत्तर सम्बन्धसम्बन्धी उजुरीबारे पनि समितिले ललितपुर प्रहरीसँग कागजात माग गरेको छ । उक्त विषयमा प्रहरी कार्यालयमा मिलापत्र भएको दाबी गर्दै उजुरी परेपछि त्यसको यथार्थ बुझ्न समितिले मिलापत्रसम्बन्धी कागजात झिकाउने निर्णय गरेको हो ।
यी दुवै विषयमा प्राप्त कागजात अध्ययन गरेपछि समितिले आवश्यक निर्णय लिनेछ ।
यसैबीच, संसदीय सुनुवाइ समितिले आज प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल गरी सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।




















