धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ दलभित्रै विवाद चर्किएपछि प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । बजेटको विपक्षमा मतदान गर्ने चेतावनी सत्तारुढ दलकै सांसदहरूले दिएपछि मुख्यमन्त्री खगराज भट्टले मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन् ।
प्रदेशसभा सचिवालयले सोमबार बिहान ८ बजेका लागि बोलाएको बैठक मंगलबार बिहान ९ बजेसम्मका लागि सारेको जनाएको छ । सरकारले आजै बजेट पारित गर्ने तयारी गरेको थियो ।
बजेटप्रति नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले असन्तुष्टि जनाउँदै विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन् । बजेट निर्माणमा बिचौलियामार्फत कमिसनको खेल भएको आरोपसमेत लागेको स्रोतको दाबी छ । केही मन्त्रीसमेत बजेटप्रति असन्तुष्ट रहेको बताइएको छ ।
बजेट निर्माणमा अर्थमन्त्री चक्रबहादुर मल्ल, मुख्यमन्त्री खगराज भट्ट र अर्थसचिव राजेन्द्र हमालले एकलौटी गरेको आरोप सत्तारुढ पक्षकै सांसदहरूले लगाएका छन् । पर्याप्त छलफल नगरी सीमित व्यक्तिले बजेट निर्माणमा निर्णय गरेको भन्दै उनीहरू असन्तुष्ट बनेका हुन् ।
विवाद चर्किएपछि मुख्यमन्त्री भट्टले मन्त्रीहरूसँग छलफल गर्न लागेका छन् । छलफलमा बजेटप्रतिको असन्तुष्टि सम्बोधन गर्दै प्रदेशसभाबाट बजेट पारित गराउने विषयमा कुराकानी हुने बताइएको छ ।
सत्तारुढ दलभित्रको विवाद समाधान हुन नसके बजेट पारित गर्ने प्रक्रिया थप लम्बिने देखिएको छ ।




















