म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरोको कारण म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौति बनेको छ ।
यही असोज ८ देखि ११ गतेसम्मको झरिका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिँनुका साथै कटानसमेत भएको कारण यातायातका साधन सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ।
पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्य पहाडी लोकमार्ग भएर बागलुङ, रुकुम पुर्व–पश्चिम, जाजरकोटका पोखरा–काठमाडौ जाने आउने सवारी साधनहरुले पनि बागलुङ–बेनी–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गरिरहेका छन्।
बेनी नगरपालिका–२ खबराका कमल सुवेदीले सडक दवेको ठाउँमा हिलोमा गाडी फस्ने, उकालो उक्लने नसक्ने, सवारी साधनको जाम हुने, साघुरो भएकाले दुर्घटनाको पनि जोखिम भएको बताए।
‘नदी कटान र पहिरोका कारण एक सय मिटर दुरीमा सडक साविकको भन्दा दुई देखि तीन मिटर भासिएको र दवेको छ,’ उनले भने, ‘सवारी साधनको चाप बढेको हुँदा घण्टौ जाम हुने गरेको छ।’
आर्थिक वर्ष २०८१/०८२ मा सडक डिभिजन कार्यालय बागलुङले भसभसे पहिरोको भूमिगत पानी ब्यवस्थापन र हिलोमा ढलान गरेको थियो।
हाल ढलान गरेको सडक सबै भासिएको छ । जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले भसभसेमा यातायात ब्यवस्थापनका लागि सडक डिभिजन कार्यालयले मर्मत र उपकरण परिचालन गरेपनि प्रतिकुल भूगोलका कारण समाधान हुन नसकेको बताए।
‘सडक डिभिजनले ग्राभेल राखेपनि दवेर भोलीपल्ट पहिलेको जस्तो अवस्था हुन्छ,’ उनले भने, ‘सडक भासिने र दब्ने क्रम नरोकिएकाले फसेका गाडीलाई डोजरको सहयोताले तार्ने गरिएको छ।’
भसभसे पहिरोका कारण खबरा गाउँ पनि जोखिममा परेको छ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पक्की पर्खाल गरेर तटबन्धका साथै पहिरोग्रस्त ठाउँमा ग्रेड मिलाउने र पक्की बनाउन सडक डिभिजन कार्यालय मार्फत पहल गरिएको कार्यवाहक जिसस प्रमुख खत्रीले बताए। रासस




















