धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नयाँ सरकार गठन भएको दुई महिनापछि आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा बजेट सार्वजनिक गरेका हुन्।
मन्त्री मल्लले यसअघि तत्कालीन अर्थमन्त्री विक्रमसिंह धामीले प्रस्तुत गरेको बजेटकै आकारमा नयाँ बजेट ल्याएका हुन्।
सरकारले बजेटको स्रोतका रूपमा आन्तरिक राजस्वबाट एक अर्ब ७२ करोड रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने अनुदान तथा अन्य स्रोतबाट १० अर्ब २४ करोड रुपैयाँ र संघीय रोयल्टी बाँडफाँटबाट सात करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।
त्यस्तै, संघीय वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब छ करोड ३३ लाख रुपैयाँ, अघिल्लो आर्थिक वर्षबाट बचत हुने रकमबाट नौ अर्ब ३५ करोड रुपैयाँ र संघीय सशर्त अनुदानबाट छ अर्ब तीन करोड रुपैयाँ जुटाउने अनुमान गरिएको छ।
यसैगरी, संघीय समपूरक अनुदानबाट ३८ करोड रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड रुपैयाँ प्राप्त हुने सरकारको अनुमान छ।
तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट पारित हुन सकेको थिएन। त्यसपछि एमाले र नेकपाको गठबन्धन सरकार गठन भएको थियो।
एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेको दुई महिनापछि प्रदेश सरकारले नयाँ बजेट प्रस्तुत गरेको हो।




















