काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार बाढी प्रभावित जगत क्षेत्रबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशुसहित ९ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो। यारुबाट उद्धार गरिएकामध्ये एक जना विदेशी नागरिकसमेत छन्।
खोज तथा उद्धार कार्यका लागि सेनाले चारवटा हेलिकोप्टर परिचालन गरेको छ। स्थलमार्गबाट समेत सेना परिचालन गरी उद्धार कार्य अघि बढाइएको सेनाले जनाएको छ।
अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जानकारी दिएको छ।



















