काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार कार्यलाई तीव्रता दिएको छ। सेनाले बाढी तथा पहिरोको जोखिममा रहेको जगत बजार क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार आज बिहान करिब ४ः३० बजे गोरखाको चुमनुब्री गाउँपालिका–३, फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी नदीले अवरोध खोलेपछि लेदो तथा गेग्रानसहितको आकस्मिक बाढी आएको थियो। बाढीको खबर प्राप्त हुनासाथ सेना प्रभावित क्षेत्रमा उद्धार कार्यमा सक्रिय भएको हो।
सेनाले हवाई तथा स्थलमार्गबाट टोली परिचालन गरी प्रभावित क्षेत्रको रेकी तथा अवलोकन गरेको थियो। सोही क्रममा पहिरोको जोखिममा रहेको जगत बजार क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ।
बाढी तथा पहिरोको जोखिम अझै रहन सक्ने भएकाले सेनाले नदी तटीय क्षेत्र र आसपासका बस्तीमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित स्थानमा तथा उच्च भूभागमा जान आग्रह गरेको छ।
बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा जोखिम न्यूनीकरणका लागि सुरक्षा निकाय सक्रिय रहेका छन्।




















