धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। बजेटसम्बन्धी निर्णय गर्न दिउँसो १ः३० बजे मन्त्रिपरिषद् बैठक बस्ने तयारी गरिएको छ भने दिउँसो २ बजे प्रदेशसभामा बजेट प्रस्तुत गरिने भएको हो।
सरकारका प्रवक्तासमेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले आज दिउँसो २ बजे बजेट प्रस्तुत हुने निश्चित भएको जानकारी दिए।
यसअघि प्रदेश सरकारले ल्याएको बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि चालु आर्थिक वर्ष सुरु भएदेखि नै सुदूरपश्चिममा बजेट शून्यताको अवस्था कायम छ। बजेट अभावका कारण प्रदेश सरकारका नियमित कामकाज, विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाह प्रभावित हुँदै आएका छन्। स्वास्थ्य संस्थाहरूमा औषधिको अभावसमेत हुन थालेको छ।
बजेट ल्याउने विषयमा सरकारभित्रै देखिएको अन्योल र विवादका कारण प्रदेशसभा बैठक पटक–पटक प्रभावित हुँदै आएको थियो। बजेट प्रस्तुत गर्ने विषयमा सहमति जुटेसँगै आजको बैठकबाट लामो समयदेखि कायम बजेट शून्यताको अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।
प्रदेश सरकारले आज बजेट प्रस्तुत गरेपछि आगामी दिनमा प्रदेशका विकास आयोजना, सरकारी सेवा प्रवाह तथा नियमित प्रशासनिक कामकाजले गति लिने अपेक्षा गरिएको छ।




















