काठमाडौं । गोरखामा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले दुईवटा पुलमा क्षति पुर्याएको छ। सडक विभागका अनुसार बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती खोला पुल पूर्ण रूपमा बगाएको छ भने गोरखा र धादिङ जोड्ने आरुघाट पुलको २२ मिटर आरसीसी भाग बगाएको छ।
विभागले सार्वजनिक गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार आरुघाट पुलको आरसीसी संरचनातर्फको २२ मिटर भाग बाढीले बगाएको हो। कुल ६० मिटर ट्रस र २५ मिटर आरसीसी संरचना रहेको उक्त पुलको ट्रस भाग भने सुरक्षित रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।
बाँकी रहेको ट्रस संरचनामा बेली ब्रिज जडान गरेर आवागमन सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको सडक विभागले जनाएको छ।
बाढीबाट क्षतिग्रस्त दुवै पुलको अवस्थाबारे विस्तृत प्राविधिक मूल्यांकन भइरहेको विभागको भनाइ छ। प्राविधिक मूल्यांकनपछि मात्रै बाढीले पुर्याएको क्षतिको पूर्ण विवरण र पुल पुनः सञ्चालनको सम्भावनाबारे स्पष्ट हुने जनाइएको छ।




















