काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखाको चुमनुम्ब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीमा लेदोसहितको बढी आएकाले तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्क रहन आग्रह गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले पनि तटीय क्षेत्रका बासिन्दालाई एसएमएस मार्फत सचेत गराएको छ । महाशाखाले भनेको छ– बूढीगण्डकी नदीको चुमनुम्ब्री–६ बाट ठूलो बाढी आइरहेकोले बाढी पास नहुँदासम्म त्रिशूली दोभानसम्म नदी छेउछाउ नजाऔँ। उच्च स्थानमा बसौँ ।
प्राधिकरणका अनुसार बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत, आरुघाटसम्म क्षति पुर्याउन सक्ने जोखिम छ । बूढीगण्डकी मनास्लु हिमालको पूर्वी मोहोडा हुँदै बग्ने गरेको छ ।
चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् ।
आज बिहान ४:०० बजे ती गाउँमा बाढी पसेपछि नदी तटीय क्षेत्रका स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए । चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनको भनाइ छ ।
बाढीले गोरखाको माछिखोला बजारमा ठूलो क्षति पुर्याएको छ । बाढीले केरौंजा जाने झोलुंगे पुल बगाएको छ भने सल्लेरी र जगत बजारमा समेत ठूलो क्षति पुर्याएको छ ।
बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए ।
हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन भने क्षतिको विस्तृत विवरण पनि प्राप्त हुन बाँकी छ ।




















