काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्धमा दरार आएको भन्ने सार्वजनिक चर्चालाई निराधार भएको बताएका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले पार्टीको शीर्ष नेतृत्वबीच कुनै प्रकारको मनमुटाव नरहेको स्पष्ट पारेका हुन् ।
पछिल्ला केही दिनयता एमालेभित्र अध्यक्ष ओली र महासचिव पोखरेलबीच असमझदारी बढेको र संवादसमेत टुटेको भन्दै विभिन्न अड्कलबाजी भइरहेका थिए । बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै ओलीले त्यस्ता चर्चामा रत्तिभर सत्यता नरहेको दाबी गरे ।
महासचिव पोखरेलले अध्यक्षको फोनसमेत नउठाएको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा ओलीले त्यस्तो विषयलाई अनावश्यक रूपमा विवादको विषय बनाउन नहुने बताए ।
अध्यक्ष ओलीले पार्टी सञ्चालन र नीतिगत विषयमा शीर्ष नेतृत्वबीच निरन्तर समन्वय तथा सौहार्दपूर्ण संवाद कायम रहेको पनि उल्लेख गरे ।




















