काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा शुक्रबार दिउँसो ३ बजेसम्म ३ हजार ७५४ मत खसेको छ।
निर्वाचन समितिका अनुसार कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये अहिलेसम्म ३ हजार ७५४ जनाले मतदान गरेका छन्। विभिन्न प्रदेश तथा समूहका लागि तोकिएका मतदान केन्द्रमा मतदान जारी छ।
प्रदेशगत विवरणअनुसार कोशीमा १ हजार २०७ प्रतिनिधिमध्ये ६१३, मधेसमा १ हजार २३४ मध्ये ५९० र लुम्बिनीमा १ हजार ७९ मध्ये ५७९ जनाले मतदान गरेका छन्।
त्यस्तै, गण्डकीमा ७८७ मध्ये ५०७, बागमतीमा १ हजार ४९१ मध्ये ७३२ तथा सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क समितितर्फका २ हजार ४५७ प्रतिनिधिमध्ये ७३३ जनाले मतदान गरेका छन्।
प्रतिनिधिहरूको लामो लाइनका कारण निर्वाचन समितिले मतदानको समय बढाएको छ। यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकिएको मतदान समय बढाएर साँझ ५ बजेसम्म पुर्याइएको छ।




















