काठमाडौं । सरकारले असोज ८ देखि ११ गतेसम्म विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित स्थानीय तहका केही क्षेत्रलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोरखा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका प्रभावित स्थानीय तह तथा वडालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। यस घोषणासँगै प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता सामग्री पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।
सरकारले गोरखाको शहीद लखन गाउँपालिकाका वडा नम्बर ३ र ४ लाई संकटग्रस्त क्षेत्रमा समेटेको छ। मनाङका चामे, नासो र मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न क्षेत्र पनि सूचीमा परेका छन्। मनाङ ङिस्याङ गाउँपालिकाका वडा नम्बर १ र ४ लाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
त्यस्तै, म्याग्दीका अन्नपूर्ण, रघुगंगा, मंगला, धवलागिरि र मालिका गाउँपालिका तथा बेनी नगरपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
बागलुङको निसीखोला गाउँपालिकाका वडा नम्बर ४ र ६, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिकाका वडा नम्बर ३ र ४ तथा ताराखोला गाउँपालिका पनि सूचीमा समेटिएका छन्।
पर्वतका जलजला गाउँपालिका, फलेवास नगरपालिकाका वडा नम्बर २, ३, ७, ८, १० र ११, बिहादी गाउँपालिका–६, महाशिला गाउँपालिकाका वडा नम्बर ५ र ६ तथा मोदी गाउँपालिकाका वडा नम्बर २ र ३ लाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
यसैगरी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५ लाई पनि संकटग्रस्त क्षेत्रमा समावेश गरिएको छ।
सरकारले बाढीपहिरोबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई सहज बनाउन तीन महिनाका लागि यस्तो घोषणा गरेको हो।




















