काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशको तर्फबाट पहिलो मत खसालेका छन्।
मतदानका लागि मतदाताहरू बिहानैदेखि लाइनमा बसेका थिए। यससँगै हिजो मतदान गर्न नपाएका मतदाताहरूमा पुनः उत्साह थपिएको छ। टाढा जानुपर्ने प्रतिनिधिहरू मतदान सकेर दसैँ मनाउन घर पुग्ने सोचमा छन्। यसले महाधिवेशन प्रतिनिधिहरूमा थप ऊर्जा भरेको छ।
खराब मौसम र प्राविधिक कारणले गर्दा राति मतदान गराउँदा मतदातालाई कठिनाइ हुने भएकाले हिजो अपराह्नदेखि सञ्चालन गर्ने भनिएको मतदान आज बिहानका लागि सारिएको निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालले बताए।
उनले आज दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गर्ने लक्ष्य राखिएको र कुल महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ रहेको जानकारी दिए।
यस्तै, निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले साँझमा मतदान सुरु गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले आज बिहानदेखि मतदान थालिएको बताए। मतपत्र धेरै भएकाले आफूसहित ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरेको जानकारी पनि उनले दिए। उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा केही ढिलाइ भएको थियो।
आजको बसाइ र खानाको खर्च पार्टीकै
आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएकाले महाधिवेशन प्रतिनिधिहरूको शुक्रबारको होटल बसाइ र खानाको खर्च पार्टीले नै बेहोर्ने जानकारी दिए।
कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने?
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि निम्नअनुसार मतदान केन्द्रहरू तोकेको छ:
- राष्ट्रिय सभा गृह (मतदान केन्द्र ‘क’): बागमती प्रदेश
- खुलामञ्च (मतदान केन्द्र ‘ख’): कोशी प्रदेश तथा तराई-मधेस समूह
- हिमाल हल: गण्डकी प्रदेश
- तराई-मधेस हल: मधेस प्रदेश
- पहाड हल: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि
परिचयपत्र र मतदाता नामावली रुजु गरिने
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ।
मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतपत्र दिएर मतदानको व्यवस्था मिलाइएको छ।
साथै, निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ।
मतदानपछि मतगणना
निर्वाचन समितिले मतदान सम्पन्न भएलगत्तै मतपेटिकाहरू सुरक्षित रूपमा सङ्कलन गरी आजै मतगणना सुरु गर्ने तयारी गरेको छ। मतगणना सम्पन्न भएपछि आधिकारिक परिणाम सार्वजनिक गरिनेछ।
१५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन्।
सभापतिसहितका प्रमुख पदहरूमा तीव्र प्रतिस्पर्धा रहेकाले यो मतदानलाई कांग्रेसको नयाँ नेतृत्व र आगामी राजनीतिक दिशा तय गर्नका लागि महत्त्वपूर्ण मानिएको छ।




















