काठमाडौं । सरकारले जारी गर्न सिफारिस गरेका तीन वटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेका छन्। अध्यादेश बिहीबार साँझ करिब ५ बजे राष्ट्रपति कार्यालय पुगेका हुन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न सिफारिस गरिएको हो।
भोटेकोशी बाढी तथा त्यसबाट भएको जनधनको क्षतिलाई मध्यनजर गर्दै विपद्सम्बन्धी कानुनी व्यवस्था संशोधन गर्न अध्यादेश ल्याउन लागिएको हो। हाल १२ वर्षसम्म बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था रहेकामा विपद्का घटनामा ४५ दिनमै मृत घोषणा गर्न सकिने व्यवस्था अध्यादेशमा प्रस्ताव गरिएको छ।
त्यस्तै, भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषय समेटिएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार अध्यादेशहरू कार्यालयमा प्राप्त भए पनि राष्ट्रपतिसमक्ष पेश गर्न भने बाँकी छ।
‘तीन वटा अध्यादेश आइपुगेको छ। आज साँझ ५ बजेतिर आइपुगेको हो,’ प्रवक्ता शाहीले बताए।
राष्ट्रपतिले अध्यादेश जारी गरेपछि त्यसमा समेटिएका कानुनी व्यवस्था कार्यान्वयनमा आउनेछन्।




















