काठमाडौं । नेकपा एमालेका पूर्वमुख्य सचेतक महेश बर्तौलाले सत्तापक्षका एक सांसदले राज्यका सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीमाथि सार्वजनिक रूपमा निरन्तर लाञ्छना, धम्की र अशिष्ट भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्।
बर्तौलाले प्रहरी संगठनका प्रमुख वा कुनै अधिकारीबाट कानूनविपरीत काम भएको भए निष्पक्ष छानबिन गरी दोष प्रमाणित भए कानूनबमोजिम कारबाही हुनुपर्ने बताएका छन्। तर त्यसको नाममा जिम्मेवार सुरक्षा अधिकारीमाथि निरन्तर सार्वजनिक रूपमा लाञ्छना लगाउने, चरित्रहत्या गर्ने र धम्क्याउने कार्य स्वीकार्य नहुने उनको भनाइ छ।
रास्वपाका सांसद खगेन्द्र सुनारले प्रहरी प्रमुख दानबहादुर कार्कीबारे दिएको अभिव्यक्तिपछि बर्तौँलाले यस्तो व्यवहारलाई सत्तारुढ सांसदको ‘दादागिरी र सत्ताको रवाफको पराकाष्ठा’ भन्दै सांसद पदको मर्यादा र गरिमाविपरीत भएको टिप्पणी गरेका छन्।
‘सांसद पद जनताको प्रतिनिधित्व गर्ने गरिमामय संवैधानिक जिम्मेवारी हो। यो पद व्यक्तिगत आक्रोश पोख्ने, राज्यका संस्थालाई तर्साउने वा धम्क्याउने, राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने अथवा दोषीको फैसला सुनाउँदै हिँड्ने न्यायाधीशको लाइसेन्स होइन,’ बर्तौलाले भनेका छन्।
लोकतन्त्रमा राज्यका संस्था र जिम्मेवार अधिकारीमाथि प्रश्न उठाउन तथा आलोचना गर्न पाइने भए पनि आलोचनाका नाममा धम्की, अराजकता र चरित्रहत्यामार्फत राज्यका संस्थालाई कमजोर बनाउने छुट कसैलाई नभएको उनले बताएका छन्।
बर्तौलाले यस विषयमा सरकार र सम्बन्धित राजनीतिक दलको गम्भीर ध्यानाकर्षण हुनुपर्ने मागसमेत गरेका छन्।




















