उदयपुर । कटारी क्षेत्रमा टिपर सञ्चालनमा लगाइएको रोकको विरोधमा व्यवसायीहरूले प्रदर्शन गर्दै मदन भण्डारी राजमार्गअन्तर्गत कटारी सडकखण्ड अवरुद्ध गरेका छन्।
चुनढुंगा ढुवानीमा प्रयोग हुने टिपर सञ्चालनलाई लिएर स्थानीयवासी र व्यवसायीबीच विवाद बढ्दै गएपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।
स्थानीयको विरोधका कारण चुनढुंगा उत्खनन तथा ढुवानी प्रभावित भएपछि व्यवसाय संकटमा परेको व्यवसायीहरूको भनाइ छ। उनीहरूले कानुनी र व्यवस्थित रूपमा टिपर सञ्चालन गर्न दिनुपर्ने, चुनढुंगा ढुवानी नरोक्नुपर्ने तथा आफ्नो लगानी र रोजगारीको संरक्षण गर्नुपर्ने माग राखेका छन्।
यसअघि पनि कटारी नगरपालिका–४ को सिम्ले बजार क्षेत्रमा टिपर व्यवसायीले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए। उनीहरूले टिपर तेर्स्याएर सिद्धिचरण लोकमार्गसमेत अवरुद्ध गरेका थिए। प्रहरीले हस्तक्षेप गरेपछि केही समयमै सडक खुलाइएको थियो।
यता स्थानीयवासीले भने बस्ती हुँदै भारी टिपर सञ्चालन हुँदा सडक, वातावरण र जनजीवनमा असर परेको भन्दै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने माग गर्दै आएका छन्।
कटारी नगरपालिका–७ मर्जेतपुर क्षेत्रका स्थानीयले चुनढुंगा ढुवानीका लागि मरुवा–नैनखाडी–आहालेतर्फको सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्नुपर्ने माग अघि सारेका छन्।
टिपर व्यवसायीको प्रदर्शन र स्थानीयको विरोधका कारण कटारीमा चुनढुंगा ढुवानीको विषय थप विवादित बनेको छ। सडक अवरुद्ध भएपछि कटारी बजार प्रवेश गर्ने सडकसमेत प्रभावित हुँदा यात्रु तथा अन्य सवारीसाधनको आवागमनमा समस्या भएको छ।




















