काठमाडौं । अस्ट्रेलियाले हालैको बाढी तथा विपद्बाट प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा गरेको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच बिहीबार मेलबर्नमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा वङले उक्त सहयोगको घोषणा गरेकी हुन्।
यसअघि अस्ट्रेलियाले आपत्कालीन प्रतिकार्यका लागि प्रतिबद्ध गरेको ११ मिलियन अस्ट्रेलियन डलर सहयोगमा नयाँ रकम थप हुनेछ। थप सहयोग राहत तथा प्रारम्भिक पुनर्लाभका कार्यमा केन्द्रित रहने जनाइएको छ।
भेटवार्तामा दुवै मन्त्रीले नेपाल–अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने विषयमा छलफल गरेका थिए।
विदेशमन्त्री वङले बाढीबाट प्रभावित नेपाली परिवार तथा समुदायप्रति दुःख व्यक्त गर्दै विपद्पछिको उद्धार, प्रारम्भिक पुनर्लाभ र पुनर्निर्माणमा अस्ट्रेलिया नेपालसँगै रहेको बताएकी थिइन्। मन्त्री खनालले संकटका समयमा अस्ट्रेलिया सरकार र जनताबाट प्राप्त मानवीय सहयोगप्रति आभार व्यक्त गरे।
भेटवार्तामा जलवायु परिवर्तनका कारण नेपाल तथा प्रशान्त क्षेत्रका मुलुकले भोगिरहेका जोखिमबारे पनि छलफल भएको थियो। मन्त्री खनालले आगामी कोप–३१ लगायत अन्तर्राष्ट्रिय मञ्चमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको गम्भीर प्रभावलाई प्रभावकारी रूपमा उठाउन अस्ट्रेलियासँग सहकार्य गर्न आग्रह गरे।
जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरण, विपद् तयारी तथा जलवायु–उत्थानशील पूर्वाधार निर्माणमा सहकार्य विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए।
त्यस्तै, दुई देशबीच शैक्षिक सहकार्य विस्तारका विषयमा समेत छलफल भएको थियो। नेपालमा अस्ट्रेलियाबाट मान्यताप्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम (टीभीईटी) संस्था स्थापना तथा अस्ट्रेलियाली विश्वविद्यालयका सम्भावित स्याटेलाइट क्याम्पस नेपालमा स्थापना गर्ने विषयमा पहल अघि बढाउनेबारे विचार आदानप्रदान भएको जनाइएको छ।
मन्त्री खनालले अस्ट्रेलियामा नेपाली विद्यार्थी तथा डायस्पोराले पुर्याउँदै आएको योगदानको उल्लेख गर्दै विद्यार्थी भिसासम्बन्धी नीतिगत परिवर्तनका क्रममा योग्य नेपाली विद्यार्थीका लागि अनुकूल र न्यायोचित व्यवस्था गर्न आग्रह गरे।
भेटवार्तामा व्यापार, प्रत्यक्ष वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन र श्रम गतिशीलतालगायत क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।
नेपाल–अस्ट्रेलियाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयले पनि भेटवार्तामा स्थान पाएको थियो। प्रत्यक्ष हवाई सम्पर्कले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दुवै पक्षले उच्चस्तरीय नियमित भेटवार्तालाई निरन्तरता दिँदै छलफलबाट भएका समझदारीलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




















