काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले बेलायत भ्रमणका क्रममा त्यहाँका उच्च सैनिक तथा सरकारी अधिकारीसँग भेटवार्ता गरेका छन्।
बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकरको निमन्त्रणामा असोज १९ गतेदेखि बेलायतको औपचारिक भ्रमणमा रहेका सिग्देलले विभिन्न उच्च अधिकारीसँग भेटवार्ता गर्नुका साथै सैन्य गतिविधिमा सहभागिता जनाएका छन्।
असोज २० गते उनले सैन्य रणनीति तथा सञ्चालनसम्बन्धी उपप्रमुख र पूर्वसैनिक तथा जनशक्ति मामिलासम्बन्धी राज्यमन्त्रीका संसदीय उपसचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए। भेटका क्रममा नेपाल–बेलायतबीचको मैत्रीपूर्ण सम्बन्ध, सैनिक सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको थियो।
विशेषगरी गोर्खा सैनिकमार्फत दशकौँदेखि कायम रहँदै आएको नेपाल र बेलायतबीचको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले गोर्खा सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गरी वीर गोर्खा सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। उनले बेलायती सेनामा गोर्खा सैनिकले पुर्याएको योगदान र बलिदानको सम्मान गरेका थिए।
त्यस्तै, असोज २१ गते सिग्देलले बेलायती सेनाको मुख्यालयको भ्रमण गरी सेनाप्रमुख जनरल सर रोली वाकरसँग भेटवार्ता गरेका छन्। सो अवसरमा नेपाल–बेलायत द्विपक्षीय सैनिक सम्बन्ध, सैनिक तालिम, अनुभव आदानप्रदान तथा नेपाली र बेलायती सेनाबीचको सहकार्यका विविध पक्षमा छलफल भएको थियो।
प्रधान सेनापति सिग्देलको बेलायत भ्रमणले दुई देशबीचको परम्परागत सैनिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपाली र बेलायती सेनाबीचको सहकार्य तथा पारस्परिक समझदारी विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।




















