काठमाडौं । दिग्गज बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार बिहान गोवास्थित निवासमा हृदयाघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
गोवास्थित निवासमा अचेत अवस्थामा भेटिएका उनलाई तत्काल अस्पताल लगिएको थियो। चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआरलगायतका उपचार प्रयास गरे पनि उनलाई बचाउन सकेनन्। बिहान ५ः२० बजे उनलाई मृत घोषणा गरिएको थियो।
नाना पाटेकर हिन्दी तथा मराठी सिनेमाका प्रभावशाली अभिनेतामध्ये एक थिए। सन् १९५१ जनवरी १ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा जन्मिएका उनले अभिनयसँगै निर्देशन, निर्माण तथा लेखनमा समेत काम गरेका थिए।
सन् १९७८ मा ‘गमन’बाट हिन्दी सिनेमामा प्रवेश गरेका पाटेकरले ‘सलाम बम्बे !’, ‘परिन्दा’, ‘अंकुश’, ‘प्रतिघात’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’ र ‘वेलकम’ लगायतका चर्चित फिल्ममा अभिनय गरेका थिए।
‘परिन्दा’मा निर्वाह गरेको भूमिकाबाट उनले राष्ट्रिय फिल्म पुरस्कार र फिल्मफेयर अवार्ड प्राप्त गरेका थिए। गम्भीर तथा दमदार भूमिकामा स्थापित पाटेकरले ‘वेलकम’जस्ता व्यावसायिक तथा हास्यप्रधान फिल्ममा समेत प्रभावशाली अभिनय गरेका थिए।
अभिनयमा फरक शैली, दमदार संवाद प्रस्तुति र विविध भूमिकामार्फत उनले भारतीय सिनेमामा छुट्टै पहिचान बनाएका थिए। उनको निधनले हिन्दी तथा मराठी फिल्म उद्योगमा शोकको वातावरण छाएको छ।




















