काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले अल्गोरिदमबाट सत्तामा आएकाहरूले नेपाललाई युक्रेन बनाउने दिशातर्फ डोर्याउन खोजेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा बोल्दै आङ्देम्बेले देशको राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन् ।
उनले बहुमतको नाममा अल्गोरिदमबाट सत्तामा आएकाहरूले देशलाई गलत दिशातर्फ लैजाने प्रयास गरिरहेको बताए ।
आङ्देम्बेले कांग्रेसको १५औँ महाधिवेशनलाई अहिलेसम्मकै ऐतिहासिक महाधिवेशन भएको बताए । यसपटकको बन्द सत्रमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले महाधिवेशन आफूलाई नौलो लागेको उनको भनाइ थियो ।
उनले महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थितिले कांग्रेसले मुलुकको राजनीतिलाई दिशानिर्देश गर्ने भूमिका देखाएको दाबी गरे ।
आङ्देम्बेले कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको पनि बताए । विगतमा कांग्रेसलाई ‘बूढोहरूको पार्टी’ भन्ने गरिए पनि अहिले १८ वर्षका युवादेखि सबै उमेर समूहका मानिस पार्टीमा जोडिएको उनको भनाइ थियो । उनले महाधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वले कांग्रेसलाई नयाँ नीति, सोच र कार्यदिशासहित अघि बढाउनुपर्ने बताए ।



















