काठमाडौं । अस्ट्रेलियामा नर्सिङ अध्ययनरत नेपाली विद्यार्थी सञ्जु राईको सवारी दुर्घटनामा मृत्यु भएको छ।
न्यु साउथ वेल्सको ब्ल्याक स्प्रिङ्सनजिकै अक्टोबर २ मा भएको दुर्घटनामा २५ वर्षीया राईको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
नर्सिङ अभ्यास (प्लेसमेन्ट) सकेर गाउलबर्नबाट बाथर्स्टतर्फ फर्किने क्रममा उनी साँझ करिब ५ बजे दुर्घटनामा परेकी थिइन्। प्रहरीका अनुसार उनी सवार कार अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किएको थियो।
दुर्घटनामा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
राई नर्सिङ विषयको अन्तिम सेमेस्टरमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थी थिइन्। अस्ट्रेलियामै नर्सका रूपमा काम गर्ने उनको सपना रहेको बताइएको छ।
परिवारले उनको शव नेपाल ल्याएर अन्तिम संस्कार गर्ने तयारी गरेको छ।




















