काठमाडौं । हावाहुरीसहितको वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र प्रभावित भएको छ। वर्षाका कारण प्रभावित भएको नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र ४ बजेलाई सारिएको छ।
बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याएर पारित गर्ने तयारी थियो। बिहान साढे १० बजे सुरु गर्ने भनिएको बन्दसत्र खाजा समयपछि साढे ११ बजे सुरु गर्ने तयारी गरिए पनि अचानक ठूलो वर्षा भएपछि कार्यक्रम प्रभावित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
वर्षाका कारण खुलामञ्चमा महाधिवेशन प्रतिनिधिहरू पुग्न सकेका छैनन्। कांग्रेसले बन्दसत्र खुलामञ्चमा आयोजना गरेको छ भने भृकुटीमण्डपमा खाना तथा राष्ट्रिय सभागृहमा निर्वाचन समितिले निर्वाचनसम्बन्धी काम गरिरहेको छ। महाधिवेशनको मतदान भने भोलि बिहान हुने कार्यतालिका छ।
बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ।
प्रवक्ता चालिसेका अनुसार खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्दसत्रमा प्रवेश खुला गरिएको छ। यसअघि विशेष महाधिवेशनमा समेत बन्दसत्र सबैका लागि खुला गरिएको थियो।
बन्दसत्रको प्रत्यक्ष प्रसारण नेपाली कांग्रेसको फेसबुक पेजबाट गरिनेछ भने अन्य सञ्चारमाध्यमलाई पनि प्रत्यक्ष प्रसारणको अनुमति दिइएको चालिसेले बताए।



















