काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चौथो दिन आज बन्द सत्रमा प्रस्तुत चारवटै प्रतिवेदन पारित गर्ने तयारी गरिएको छ।
असोज १८ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत बन्द सत्रमा सभापति गगन थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव प्रस्तुत गरेका थिए।
त्यस्तै, महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका थिए।
यी प्रतिवेदनमाथि सोमबारदेखि महाधिवेशन प्रतिनिधिहरूले निरन्तर धारणा राख्दै आएका छन्। छलफल सकिएपछि आज प्रतिवेदनहरू पारित गर्ने कार्यसूची रहेको कांग्रेसको मिडिया सेन्टरले जनाएको छ।
बन्द सत्रको सुरुवातमा सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बिहान साढे १० बजेबाट सुरु हुने भनिएको बन्द सत्र केही ढिला गरी सुरु हुने बताइएको छ।
सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेश आचार्यका अनुसार छलफलमा सातै प्रदेशका साथै पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसमेत सहभागी छन्।
यसपटक पनि बन्द सत्र सबैका लागि खुला गरिएको छ। यसअघि भएको विशेष महाधिवेशनमा समेत बन्द सत्र खुला गरिएको थियो।




















