काठमाडौं । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीसँगको २१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा जित र गोलसँगै टुंग्याएका छन्।
बुधबार बिहान ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा बेनिनविरुद्ध खेलेको मैत्रीपूर्ण खेल मेस्सीका लागि अर्जेन्टिनाबाट अन्तिम खेल बन्यो। अर्जेन्टिनाले बेनिनलाई ३–० ले पराजित गर्दा मेस्सीले एक गोल गर्नुका साथै दुई गोलमा असिस्ट गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८औँ मिनेटमा मेस्सीको कर्नरमा निकोलास ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसपछि निको पाजले टोलीको अग्रता दोब्बर बनाए।
७१औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेललाई अविस्मरणीय बनाए। यससँगै उनले अर्जेन्टिनाका लागि २०८ खेलमा १२६ गोल पूरा गरेका छन्।
मेस्सीको अन्तिम खेललाई विशेष बनाउन मोनुमेन्टल रंगशालामा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। मैदानमा उनको १० नम्बरको विशाल जर्सी प्रदर्शन गरिएको थियो भने खेलको १०औँ मिनेटमा रेफ्रीले खेल रोकेपछि दर्शकले उभिएर उनलाई लामो समयसम्म ताली बजाउँदै सम्मान गरेका थिए।
राष्ट्रिय गानका क्रममा मेस्सी भावुक देखिएका थिए। उनका छोराहरू पनि मैदानमा उपस्थित थिए भने अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीसमेत भावुक बनेका थिए। बेनिनका कप्तानले मेस्सीलाई स्मृतिचिह्न र पत्र हस्तान्तरण गर्दै सम्मान गरेका थिए।
मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले २०२१ र २०२४ कोपा अमेरिका तथा २०२२ को विश्वकप जितेको थियो। उनी अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा राष्ट्रिय टोलीबाट बिदा भएका छन्।
मेस्सीले गत ३१ अगस्टमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गर्दै राष्ट्रिय टोलीलाई आफूले दिने थप केही नरहेको बताएका थिए। अन्तर्राष्ट्रिय खेलबाट बिदा भए पनि उनको क्लब करिअर भने जारी रहनेछ।
मेस्सी अमेरिकी मेजर लिग सकर क्लब इन्टर मायामीमा आबद्ध छन्। उनीसँग क्लबको सम्झौता सन् २०२८ को सिजनको अन्त्यसम्म रहेको छ।




















