काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टीको उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन्।
मंगलबार साँझ सभापतिका उम्मेदवार गगन थापासँग भएको भेटवार्तापछि रिजाल उम्मेदवारी फिर्ता लिन तयार भएका हुन्। थापाले आफूले समर्थन गर्न नसक्ने बताएपछि रिजालले पदमा प्रतिस्पर्धा गर्नुको अर्थ नरहेको निष्कर्ष निकालेका हुन्।
रिजालले थापासँग भएको कुराकानीको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै कांग्रेसलाई पुनः कांग्रेसकै मूल स्वरूपमा फर्काउने आफ्नो मुख्य आकांक्षा रहेको बताएका छन्।
भेटका क्रममा रिजालले भनेका छन्, ‘आकांक्षा एउटै छ– कांग्रेस फेरि कांग्रेस बनोस्। कांग्रेसको आफ्नो हार्ट र सोल फेरि प्राप्त होस्। त्यो काममा तिमीलाई सहयोग गर्छु। तिमीले नै भनिसकेपछि मैले कुनै पदमा लड्छु भन्नुको कुनै अर्थ छैन। त्यसकारण पद खोजिरहने मेरो यात्रा टुंगियो।’
रिजालले बुधबार औपचारिक रूपमा उपसभापति पदको उम्मेदवारी फिर्ता लिने बताएका छन्।
कांग्रेसको जारी १५औँ महाधिवेशनमा रिजालले मंगलबार खुलातर्फ उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका थिए। यसअघि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन्।




















