काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको उम्मेदवारी दर्तामा शर्माले पुष्पराज पौड्याललाई वारेस बनाएर निर्वाचन समितिमा मनोनयन फाराम दर्ताका लागि पठाएका छन् ।
शर्माको प्रस्तावकमा झापाका उद्धव थापा र सुनसरीका केदार भण्डारी तथा समर्थकमा झापाका सुधीर सिवाकोटी र देउकुमार थेवे रहेका छन्।
कांग्रेसले विधान संशोधन गरी यसै महाधिवेशनदेखि वरिष्ठ उपसभापतिको पद थप गरेको हो।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका शर्मा सन् २००० देखि २००२ सम्म नेविसंघको केन्द्रीय अध्यक्ष भएका थिए। १४औँ महाधिवेशनअघि उनले कांग्रेसको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।
प्रखर वक्ताका रूपमा परिचित शर्मा १४औँ महाधिवेशनबाट लोकप्रिय मतसहित महामन्त्री निर्वाचित भएका थिए। विशेष महाधिवेशनपछि उनले उपसभापतिको जिम्मेवारी सम्हालेका थिए।




















