काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।
महामन्त्री पदमा उम्मेदवारी दर्ता गराए पछि शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व स्थापित गर्ने र संस्थागत संरचनालाई थप सुदृढ बनाउने एजेन्डासहित प्रतिस्पर्धा गर्न लागेको बताएका छन् ।
बदलिँदो राजनीतिक परिवेशअनुसार कांग्रेसको संगठन र कार्यशैलीमा समेत परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले पार्टीलाई थप गतिशील बनाउनुपर्ने धारणा राखेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट संशोधित विधानअनुसार महामन्त्रीको संख्या बढाएर तीन पुर्याइएको छ। तीमध्ये एक जना महिला महामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ।
महाधिवेशनबाट चयन हुने केन्द्रीय कार्यसमितिको आकारसमेत १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ। पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्याइएको छ।
एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएसँगै उपसभापतिको संख्या चार पुगेको छ। त्यस्तै दुई जना खुला सहमहामन्त्रीको पद थप गरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंमा जारी छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले मंगलबार राष्ट्रिय सभागृहबाट नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता प्रक्रिया सञ्चालन गरिरहेको छ।
महाधिवेशनमा ७ हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। उम्मेदवारी दर्ता सुरु भएसँगै सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरू औपचारिक रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।




















