काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पौडेलले मंगलबार खुलातर्फ महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी यसअघि विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए।
कांग्रेसमा खुलातर्फ दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ७ हजार ११४ प्रतिनिधिले मतदान गर्नेछन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा दर्ताको प्रक्रिया अघि बढाएको छ।
केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता जारी रहेकाले राष्ट्रिय सभागृहमा उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिको चहलपहल बढेको छ।
केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि मंगलबार दिउँसो साढे १२ बजेदेखि साँझ ६ बजेसम्मको समय तोकिएको छ।




















