काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले रसुवाका बाढी प्रभावित नागरिकलाई दशैंअघि नै सुरक्षित स्थानमा पुनर्स्थापना गर्नेगरी काम भइरहेको बताएका छन्।
सिंहदरबारमा मंगलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्री लम्सालले प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी चाडपर्व मनाउने वातावरण बनाउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए।
उनका अनुसार स्थानीय तहसँगको समन्वयमा पुनर्स्थापनाका लागि उपयुक्त जग्गा पहिचान गर्ने काम भइरहेको छ। स्थानीय तह, विपद् व्यवस्थापन प्राधिकरण र सरकारमार्फत उपलब्ध गराइने राहत तथा क्षतिपूर्तिको समेत समीक्षा गरी समयमै उपलब्ध गराउने तयारी भइरहेको उनले बताए।
मन्त्री लम्सालले त्रिशूली नदीमा तत्काल बेली ब्रिज राख्न समस्या रहेको पनि जानकारी दिए। स्टकमा बेली ब्रिज भए पनि नदीमा राख्न कम्तीमा १०० देखि १२२ मिटर लामो पुल आवश्यक पर्ने र उक्त लम्बाइको पुल तत्काल उपलब्ध नभएको उनको भनाइ छ।
विश्वभरका बेली ब्रिज उत्पादन गर्ने कम्पनीसँग समन्वय गर्दा पनि हवाईमार्फत तत्काल ल्याउन सकिने पुल स्टकमा नभेटिएपछि अर्डर गर्नुपरेको उनले बताए।
लम्सालले बाढीले क्षति पुर्याएको पुरानै स्थानमा राजमार्ग पुनर्निर्माण नगर्ने स्पष्ट पारे। सुरक्षित हुने गरी नयाँ अलाइनमेन्ट र फरक डिजाइनमा सडक निर्माण अघि बढाइने उनले बताए।
बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले रसुवा बाढीबाट २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए। क्षति पुगेका २० झोलुङ्गे पुलमध्ये १२ वटाको मर्मत सम्पन्न भइसकेको र बाँकी आठवटाको मर्मत प्रक्रिया अघि बढिरहेको उनले बताए।
नुवाकोटको ढुङ्गे–बेत्रावती सडकखण्ड खुलाएर यातायात सञ्चालनमा ल्याइएको तथा नुवाकोट र रसुवा जोड्न बेत्रावतीमा बेली ब्रिज निर्माण भइरहेको मैनालीले जानकारी दिए। उक्त पुल आगामी सोमबारसम्म सञ्चालनमा ल्याएर धुन्चेसम्मको सडक पहुँच जोड्ने लक्ष्य रहेको उनले बताए।
रसुवागढी सडकका विभिन्न स्थानमा चारदेखि पाँचवटा बेली ब्रिज निर्माण गर्नुपर्ने भएकाले दशैंअघि उक्त सडकखण्ड पूर्ण रूपमा जोड्न सम्भव नरहेको उनको भनाइ छ।
त्यसैगरी बेत्रावती–मेलुङ–स्याफ्रुबेँसीको पुरानो सडकलाई छाडेर वैकल्पिक मार्गबाट सडक सञ्जाल पुनःस्थापित गर्ने काम भइरहेको पनि मैनालीले जानकारी दिए।




















