काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्दै आफू निर्वाचित भए कांग्रेसलाई एकताबद्ध बनाउने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राठौरले सभापति पदमा गगनकुमार थापासँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्। उनले कांग्रेसभित्र बढेको विभाजन र अराजकता अन्त्य गरी पार्टीलाई मर्यादित र एकताबद्ध बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताए।
कांग्रेसका दुई–दुई वटा अधिवेशन भइरहेका कारण पार्टीभित्रको विभाजन आगामी स्थानीय र प्रदेश निर्वाचनमा समेत असर पर्न सक्ने उनको भनाइ छ।
‘आज कांग्रेसका दुई–दुई वटा अधिवेशन हुँदैछन्। रास्वपाले कांग्रेसलाई भित्तामा पुर्याएको छ। कम्युनिस्टहरू मिलेर जाने परिस्थिति छ। कांग्रेसको अधिवेशन दुई वटा हुँदै गर्दा भोलि आउने स्थानीय र प्रदेश निर्वाचनमा के हुन्छ, छ महिनापछि हामी भोगिहाल्छौँ। त्यसैले म सभापति भएँ भने कांग्रेसलाई एक बनाउँछु,’ राठौरले भने।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई न्याय दिलाउने र देशभरका कांग्रेस कार्यकर्तालाई समान व्यवहार तथा अवसर सुनिश्चित गर्ने प्रतिबद्धता जनाए। कांग्रेसभित्र बढेको अराजकता अन्त्य गरी पार्टीलाई मर्यादित बनाउने उनको दाबी छ।
‘अहिले समाज अराजक भएको छ, सामाजिक परिवेश अराजक भएको छ। कांग्रेसभित्र पनि अराजकता बढेको छ। त्यसैले म सभापति भएँ भने कांग्रेसलाई मर्यादित बनाउँछु, कांग्रेसका कार्यकर्तालाई मर्यादित बनाउँछु,’ उनले भने।
राठौरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई काम गर्ने पर्याप्त समय दिनुपर्ने धारणा पनि राखे। रातारात देशमा परिवर्तन सम्भव नहुने भन्दै उनले जनताले रास्वपालाई दिएको जिम्मेवारीअनुसार काम गर्ने अवसर दिनुपर्ने बताए।
‘रातारात केही हुनेवाला छैन। पाँच वर्ष कुर्नुहोस्। नेपाली जनताले रास्वपालाई जिताएका छन्। म उहाँहरूको कामको सफलताको शुभकामना दिन चाहन्छु, विरोध गर्न चाहन्नँ,’ उनले भने।
बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले स्थापित गरेको कांग्रेसको राजनीतिक मर्यादा पुनःस्थापित गर्ने उद्देश्यले आफूले सभापतिमा उम्मेदवारी दिन लागेको राठौरले बताए।




















